पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने बागीलाई कारबाही नगर्ने कांग्रेसको भनाई

काठमाडौं ।  पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने नेपाली कांग्रेसले जनाएको छ । आइतवार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वतः पार्टीबाट निष्कासित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवार निष्कासित नहुने बताउएका हुन । उनले पार्टी र गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारलाई आग्रह गरेका छन् ।

प्रवक्ता महतले पालिका चुनावमा तालमेल सफल भएको दाबी पनि गरेका छन् । उनले कतिपय ठाउँमा स्थानीय अवस्थाअनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आमरूपमा हेर्दा गठबन्धन सफल भएको बताउएका छन् । प्रवक्ता महतले पछिल्लो रिपोर्टअनुसार पार्टीबाट देशभर ३० हजार ६ सय २८ जनाको उम्मेदवारी परेको बताउएका छन् ।