२०८२ असोज ३० , बिहीबार

तीजको रौनकमा ‘मधु’ मिसियो, हरिमाया कार्कीको नयाँ गीत सार्वजनिक




सुर्खेत । तीजको सांगीतिक माहोलमा गायिका हरिमाया कार्कीले नयाँ गीत ‘मधु’ लिएर दर्शकमाझ उपस्थित भएकी छन् ।

शुक्रबार सार्वजनिक भएको उक्त गीतले तीजको परम्परा, महिला भावनाको गहिरो चित्रण र माइतीको यादलाई समेट्दै नारी मनको कथा सुनाउने प्रयास गरेको छ।

`आमाले पठाएको सिफनको सारी, नाच्छु फरर मधु भुइँमै लरर` भन्ने बोलले थालनी हुने गीतमा तीजको उल्लाससँगै महिलाले भोग्ने भावनात्मक पक्षलाई जोडिएको छ । गीतमा शब्द, संगीत, स्वर र निर्माण सबै काम गायिका कार्की आफैंले सम्हालेकी छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष समेत रहेकी कार्कीले यो गीतलाई ‘यस वर्षको पहिलो तीज कोशेली’ भन्दै सार्वजनिक गरेकी हुन् । ‘हरिमाया कार्की अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा जानकी पुन मगर र समीक्षा सुनारको आकर्षक नृत्य देख्न सकिन्छ ।

गीतको भिडियो निर्देशन, छायांकन, सम्पादन र रंग संयोजन निर्माता तथा निर्देशक निर्मल प्याकुरेलको रहेको छ । कोरियोग्राफी चन्द्रबहादुर मन्दिर मगर र संगीत संयोजन खेमराज गौतमले गरेका छन् । भिडियोको सम्पूर्ण पोस्ट–प्रोडक्सन श्रीनाथ फिल्मस्, सुर्खेतमा गरिएको हो ।

हरिमाया कार्कीले यसअघि पनि दर्जनौं तीज गीत दर्शकमाझ ल्याइसकेकी छन् । उनले गाएको ‘पार्बता’ गीतले अघिल्लो वर्ष राम्रो चर्चा कमाएको थियो । यस वर्ष भने ‘मधु’ पछि अर्को गीत ‘छोरीको मर्म’ श्रावण ७ गते सार्वजनिक हुने बताइएको छ ।

सांगीतिक क्षेत्रमा २५ वर्षदेखि सक्रिय कार्कीले आफ्नो नयाँ सिर्जनालाई दर्शक–श्रोताबाट माया र प्रतिक्रिया पाउने अपेक्षा राखेकी छन् । सामाजिक सञ्जालमार्फत उनले गीत हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन् ।

भिडिओ

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार