काठमाडौं । १६ दिनपछि देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सहदस्यहरु आ–आफ्नै तरिकाले चुनावी गतिविधि गरिरहेका छन् । धेरै उम्मेदवार घरदैलो अभियानमा सक्रिय छन् । आफ्ना एजेण्डा मतदातामा पुर्याउन उम्मेदवारको भ्याइनभ्याइ हुँदा धनगढीका मतदाता भने यसपटक सचेत बनेका छन् ।गाउँमा राजनीतिक दलका एजेण्डा बोकेर उम्मेदवार आइरहेका र सबैले राम्रै एजेण्डा ल्याएका धनगढी–५ तारानगरका स्थानीय विश्व अधिकारीले बताए । तर अब एजेण्डा हैन व्यक्ति हेरिने र काम गर्न सक्ने नयाँ सोच भएका व्यक्तिलाई भोट दिने उनी बताउँ छन् । पटक–पटक दललाई भोट दिँदा धनगढीको विकास नभएको भन्दै उनले अब आस्थाका आधारमा नभई जुन पार्टीले योग्य उम्मेदवार उठाएको छ, उसैलाई भोट दिने बताए ।
धनगढी–१० का स्थानीय जीवन रेग्मी पनि अब मतदाता सचेत बन्नु पर्ने बताउँछन् । ‘दललाई आस्था छ भन्दैमा आँखा चिम्लेर भोट हाल्न नहुँने उनको भनाई थियो । उनले स्थानीय स्तरमा हामीलाई योग्य र जनताका आकांक्षा बुझ्ने नेता चाहिएको बताए । सबैले क्षमतावान उम्मेदवारलाई भोट हाल्नु पर्ने आफ्नो टोलमा सबैले हाम्रा तथा आस्थाका आधारमा नभई विकासप्रति कटिबद्ध र योग्य उम्मेदवारलाई भोट हाल्नेबारे छलफल गरेको उनी बताउँछन् ।धनगढी–१३ का मतदाता पनि यस पटक सचेत बनेका छन् । चुनावका बेला ठूला–ठुला आश्वासन दिएर चुनाव जितेपछि गाउँमा फर्केर नआउने नेतालाई आफुहरुले चिनिसकेको बताउँछन् ।
धेरै नेता चुनाव जितेपछि पाँच वर्षसम्म गाउँमै नआएको भन्दै उनले त्यसता नेतालाई भने अब नपत्याइने बताए । टोलमा विकास प्रेमी नेता छान्नु पर्छ भन्ने बहस नै चलेको र आफुहरु भने उम्मेदवारको पर्खाइमा बसेको बताउँदै पहिला चिन्ने अनि चुन्ने बताए । वडा नम्बर–१३ कै स्थानीय जगत विकले पनि धनगढीको विकास गर्न सक्ने, विपन्न नागरिकको अभिभावक बन्न सक्ने, सबै नागरिकलाई समान व्यवहार गर्न सक्ने नेतालाई भोट दिने योजना बनाएको बताए । स्थानीय जनप्रतिनीधि छनौट गर्दा पार्टीको आस्थाका आधारमा नभई राम्रो उम्मेदवारलाई भोट दिइने उनी बताउँछन् ।
धनगढी–४ की अम्बिका जोशीले मदिरा र मासुमा भुल्ने मतदाता सचेत हुनुपर्ने सुझाव दिइन् । उनले अघि पछि राम्रो नेता छान्छौं भन्दै सबैले बहस गर्ने तर अन्तिममा विभिन्न प्रलोभनमा परेर मतदाता पनि प्रभावित हुने गरेका देखिएको गुनासो गरिन् । उनले व्यक्तिगत प्रलोभनमा नपरेर समग्र नगरको भविश्य हेर्नुपर्ने बताइन् ।
धनगढी उपउहानगरपालिकाको मेयरमा यस पटक गठबनधनबाट उम्मेदवारी दिएका निपबहादुर वड, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द र स्वतन्त्रतर्फ उम्मेदवारी दिएका गोपाल हमाल बीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।स्वतन्त्र उम्मेदवार गोपाल हमाल यसअघि नृपबहादुर वड सँग २७ सय मतान्तरले पराजित हुँदा नेकपा उमालेका उम्मेदवार दुर्गा जोशी चौथौ स्थानमा थिए । तर यसपटक भने एमालेले पनि उम्मेदवारी छनौटमा सन्तुलन मिलाएको छ । एमालेबाट उप मेयरमा उम्मेदवारी दिएकी चन्द कला रानाले राना थारूका भोट तान्न सक्ने आंकलनका कारण एमाले पनि बलियो अवस्थामा देखिन्छ ।
ए.के. सञ्चार । १४ बैशाख २०७९, बुधबार ११:१३