देशभर बाढी पहिरोबाट ५ जनाको मृत्यु, ३४ बेपत्ता, १ सय ६२ घर परिवार विस्थापित

काठमाडौं । देशभर बाढी पहिरोबाट पछिल्लो दुई दिनमा कम्तिमा ५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ५ जनाले ज्यान गुमाउँदा ३४ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकमा २० जना र जाजरकोटमा ७ जना बेपत्ता भएको खबर छ । बाढीले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ भने पाल्पा, कास्की र डोटीमा एक–एक जनाको मृत्यु भएको छ । हिजो साँझसम्म देशभर २२ ठाउँमा बाढी र पहिरोले क्षति गरेको छ । बाढी र पहिरोबाट २६ जना घाइते भएका विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राकृतिक प्रकोपका कारण देशभर १ सय ६२ घर, परिवार विस्थापित भएका छन् । ५२ घरहरु भत्किएका छन् भने ४ वटा सरकारी कार्यालय र ५ वटा पुल भत्किएका छन् ।