मंसिरको १ गते राति १२ बजेदेखि चुनाव प्रचार गर्न नपाइने

काठमाडौं । निर्वाचनका लागि मंसिर १ गते बिहीबार १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले निर्वाचनको दिनभन्दा ७२ घन्टा अघिबाट चुनावी प्रचार गर्न नपाउने निर्णय यसअघि नै गरिसकेको छ।

आयोगले गत कात्तिक १७ गतेदेखि चुनावी प्रचार प्रसार गर्नका लागि समय दिएको थियो । यस अवधिमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले जुलुस, आमसभा, कोणसभा गर्न पाउने व्यवस्था आयोगले गरेको थियो ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम गर्न नपाउने बताए ।

मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने उनले बताए । कुनैपनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत उनले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ। आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ।