लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको सनाखत हुनसकेको नसकेको र उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ । यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको छ।