सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली पैसा’ महोत्सव (कर्णाली मनी फेस्टिभल) हुने भएको छ । कर्णाली बेसिन कन्जरवेसन फाउण्डेशनको आयोजनामा यही वैशाख २६ गते वीरेन्द्रनगरस्थित सुर्खेत मोडेल कलेजमा महोत्सव सञ्चालन हुने भएको हो ।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र सुर्खेत मोडल कलेजको सहकार्यमा महोत्सव सञ्चालन हुने कर्णाली बेसिन कन्जरवेसन फाउण्डेशनका निर्देशक आशुतोष तिवारीले जानकारी दिए । उनका अनुसार कर्णालीमा लगानी भित्र्याउने वातावरणको खोजी गर्ने उदेश्यले एक दिवसीय महोत्सव हुने लागेको हो ।
महोत्सवमा कर्णालीको आर्थिक र मानवीय पूँजी विकासमा पैसा, वित्त, बैंकिङ, लगानी र बीमाको सकारात्मक भूमिकाका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग अन्तरक्रिया गरिने निर्देशक तिवारीको भनाइ छ ।
महोत्सवमा व्यापार सल्लाहकारहरुद्वारा व्यवसायिक योग्यता सुधार सत्रहरु र उद्यमीहरुका लागि उद्योग सल्लाह सत्रहरु पनि रहने आयोजकले जनाएको छ ।
ए.के. सञ्चार । २३ बैशाख २०८०, शनिबार ०८:४१