महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरुलाई अझै पनि पुरातनवादी सोचका कारण सामाजिक,आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको बताएकी छन् ।

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजित प्रथम कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा आफ्नो भनाइ राख्दै आफुले महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा महत्त्वपूर्ण काम भइरहेको बताएका हुन्।

भण्डारीले महिलाले प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्ने बताइन् ।

उनले महिलाको सीप, क्षमतालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिने भण्डारीको भनाइ छ । 

उपस्थिति महिलाहरुलाई भण्डारीले शैक्षिक, आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै सङ्घर्ष जारी राख्नुपर्ने बताएकी छन् ।

उनले भनिन्, ‘कर्णाली भौतिक पूर्वाधारको विकासमा पछि परे पनि भौगोलिक विविधता, प्राकृतिक स्रोत, साधनले सम्पन्न रहेको छ । यहाँको आवुसरणमा रहेका रारा, से–फोक्सुन्डो, नेपाली भाषाको उद्दगम स्थल सिंजा, कालिकोटको रास्कोट, पञ्चदेवल, पचालझराना कर्णालीको मात्र नभई सिङ्गो देशका अमूल्य सम्पदा हो । यहाँको जैविक विविधताको उपयोग र पर्यटन प्रवर्धन गर्दा कर्णाली एक समुन्नत प्रदेशका रुपमा रुपान्तरण हुन् सक्दछ ।’

कर्णालीको भौगालिक विकटतालाई चिर्नका लागि उत्तरी सिमा सम्मको कर्णाली करिडोर, नदिहरुमा पुल,पहाडमा सुरुङ्ग मार्ग र केवलकार जस्ता विद्युतियमा आधारित यातायात सञ्चालन गर्न सके विकासले वैज्ञानिक रुप लिने सक्ने भनाइ राखिन्  ।