कर्णालीका जिल्लामा म्यादी प्रहरी परिचालन सुरु



सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जुम्ला, दैलेख र सुर्खेतमा कर्मचारी तथा सुरक्षा तयारी तीव्र बनाइएको छ ।

जुम्लामा कुल ६ सय ५४ कर्मचारी खटिनुपर्नेमा हालसम्म ६ सय ४८ जना परिचालन भइसकेका छन् । दुई अस्थायी मतदान केन्द्रका लागि आवश्यक ६ जना कर्मचारी भने अझै खटिन बाँकी छन्।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तका अनुसार जिल्लाका १०८ मतदान केन्द्रमा १०८ जना मतदान अधिकृत, १०८ जना सहायक मतदान अधिकृत, १०८ जना सहयोगी र ३ सय २४ जना अन्य कर्मचारी परिचालन गरिएका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन आवश्यक निर्देशन दिइएको जनाइएको छ । यसपटक ११८ जना महिला कर्मचारी खटिएका छन्, जसमा ७ जना मतदान अधिकृत र २६ जना सहायक मतदान अधिकृत महिला रहेका छन्।

खलङ्गास्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा भने सबै महिला कर्मचारी मात्र खटाइएको छ। उक्त केन्द्रमा उच्च अदालत सुर्खेत जुम्लाका शाखा अधिकृत सुशीला पाण्डे र डिभिजन वन कार्यालयकी सहायक मतदान अधिकृत विस्मिता अर्यालको नेतृत्वमा महिला टोली परिचालित छ।

निर्वाचनमा खटिएका कर्मचारीलाई भौगोलिक दुर्गमता र दूरीका आधारमा सेवा सुविधा दिइने जनाइएको छ। जिल्ला जनशक्ति व्यवस्थापन समितिले १ हजार ४ सय ९९ जना कर्मचारी छनोट गरेकोमा आवश्यकताअनुसार ६ सय ५४ जना मात्र परिचालन गरिएको हो।

दैलेखमा १ हजार ५ सय ५७ निर्वाचन प्रहरी

दैलेखमा निर्वाचनलाई सुरक्षित बनाउन १ हजार ५ सय ५७ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेशबहादुर बरालका अनुसार नेपाल प्रहरीतर्फ १ हजार ३ सय ७८ र सशस्त्र प्रहरीतर्फ १ सय ७९ जना खटिएका छन्। आवश्यक तालिमपछि उनीहरू मतदान स्थलको सुरक्षा, गस्ती तथा शान्ति–सुरक्षा व्यवस्थापनमा परिचालित हुने डिएसपी बरालले बताएका छन्।

सुर्खेतमा १ हजार ८ सय ४६ निर्वाचन प्रहरी

सुर्खेतका दुई निर्वाचन क्षेत्रमा १ हजार ८४६ जना निर्वाचन प्रहरी खटिएका छन्। यसमध्ये सशस्त्र प्रहरी २१२ र जनपद प्रहरी १ हजार ६२८ जना रहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनजङ्ग बुढथापाका अनुसार निर्वाचनपूर्व आवश्यक तालिम दिएर सोमबारदेखि कार्यक्षेत्रमा पठाइएको हो। आगामी १० देखि १५ दिनसम्म उनीहरू मतदान स्थल र केन्द्रको सुरक्षा तथा गस्तीमा खटिने डिएसपी बुढथापाले जानकारी दिएका छन्।

सुर्खेतका लागि आवश्यक मतपत्र र अन्य सामग्री जिल्लामा आइसकेका छन्। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दप्रसाद चौलागाईंका अनुसार मतपत्र सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ। सुर्खेतमा १ लाख २१ हजार ८८९ पुरुष र १ लाख २७ हजार ५४ महिला गरी कुल २ लाख ४८ हजार ९ सय ४३ जना मतदाता रहेका छन्।

कर्णालीका यी जिल्लामा कर्मचारी र सुरक्षा तयारीसँगै निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार