निषेधाज्ञाले सुनसान वीरेन्द्रनगरका सडकमा फक्रिएका गुलमोहर (फोटोफिचर)

सुर्खेत । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकमा फक्रिइरहेका यी फूलनजिक पुग्दा भने लाग्छ– सुर्खेत त स्वर्ग नै हो कि । अर्थात्, गुलमोहरले सुर्खेतलाई स्वर्गझैं सिँगारेको छ ।

कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ । हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सुनसान सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ ।

फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । घण्टाघर लाईन, कुइनेपानी क्षेत्रको सडक छेउ गुलमोहरका ७ वटा मात्र रूख भएपनि ईत्राम क्षेत्रमा पनि गुलमोहर सुनसान सडकमा फुलेर बसन्त ऋतुमा प्रकृतीलाई रमणिय बनाइदिएका छन् ।