गएको २४ घण्टामा ४ हजारभन्दा धेरै कोरोनामुक्त, २ हजार ७ सय ४५ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौ – गएको २४ घण्टामा देशभर चार हजारभन्दा धेरै कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार एक सय ८७ जनाले कोरोनालाई जितेका छन् ।

आज सङ्क्रमणमुक्त भएकासँगै अहिलेसम्म नेपालमा पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिले सङ्क्रमण निको हुने दर ८८ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा थप ४१ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ६ पुगेको छ ।