सुर्खेत । लैंगिक समानता, महिला सशक्तीकरण र समावेशिताका विषयमा चार प्रदेशका २६ जना पत्रकारले तीन वर्षको अवधिमा ४५ वटा खोजमूलक स्टोरी तयार गरी प्रकाशन गरेका छन् ।

‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनाअन्तर्गत सञ्चालित मिडिया फेलोसिप कार्यक्रममा सहभागी पत्रकारले सुदूरपश्चिम, कर्णाली, मधेस र बागमती प्रदेशका विभिन्न विषयमा खोजी गरी स्टोरी तयार गरेका हुन् ।
फेलोसिप कार्यक्रमको समीक्षा तथा अनुभव आदानप्रदानका लागि ललितपुरमा आयोजित दुईदिने राष्ट्रिय कार्यशालामा पत्रकारहरूले स्टोरी तयार गर्दाका चुनौती, अपनाइएको विधि र प्रकाशनपछि देखिएको प्रभावबारे अनुभव सुनाएका छन् ।
कार्यक्रममा फेलो पत्रकारहरूले सामान्य समाचारभन्दा खोजमूलक स्टोरी तयार गर्दा विषयको गहिराइमा पुग्न, तथ्य जुटाउन र सम्बन्धित समुदायको आवाज समेट्नुपर्ने अनुभव सुनाएका थिए । उनीहरूले फेलोसिपले आफ्नो लेखन क्षमता विकास गर्नुका साथै खोजमूलक पत्रकारितालाई प्रभावकारी बनाउन सहयोग पुगेको बताएका छन् ।
कार्यशालामा परियोजना कार्यान्वयनमा सहकार्य गरिरहेको इक्वेल एक्सेसका निर्देशक जनकराज भट्टले पत्रकारहरूले तयार गरेका स्टोरीले महिला सशक्तीकरण र समावेशिताका सवाललाई समाजमा स्थापित गर्न सहयोग पुगेको बताएका छन् ।
मेन्टर लुना भट्टराईले फेलो पत्रकारले तयार गरेका स्टोरी र त्यसबाट देखिएको प्रभावबारे जानकारी गराएको थिईन् । उनले स्टोरी तयार गर्दा विषयको गहिराइ, तथ्य र लैंगिक संवेदनशीलतालाई ध्यान दिनुपर्ने विषयमा सहजीकरण गरेकी थिइन्।
मिडिया फेलोसिप कार्यक्रमको कार्यान्वयन निकाय मिडिया हाउसकी सञ्चालक शहनसिला शर्माले तीन वर्षमा भैरहवा र धनगढीमा दुईवटा तालिम सञ्चालन गरिएको जानकारी दिइन् । स्टोरी छनोट, स्टोरी पिच र मेन्टरसिपमार्फत पत्रकारलाई खोजमूलक स्टोरी तयार गर्न सहयोग गरिएको उनले जानकारी दिइन् ।
कार्यशालामा पत्रकारिता क्षेत्रमा तथ्य र खोजमा आधारित सामग्री उत्पादनसँगै समाचार कक्षमा लैंगिक संवेदनशीलता कायम गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको थियो ।
दोस्रो दिनको प्यानल छलफलमा प्रेस काउन्सिल नेपालका सदस्य रविराज बराल, नेपाल टेलिभिजनका प्रमुख प्रशासकीय अधिकृत आरती चटौत र राष्ट्रिय समाचार समितिकी अधिकृत मधु शाही सहभागी थिए । उनीहरूले सञ्चारगृहमा अझै लैंगिक संवेदनशील र मैत्रीपूर्ण वातावरण पूर्ण रूपमा निर्माण हुन नसकेको बताए ।
समाचार उत्पादनदेखि प्रकाशन र प्रसारणसम्मका हरेक प्रक्रियामा लैंगिक समानता र संवेदनशीलतालाई व्यवहारमै लागू गर्नुपर्नेमा उनीहरूले जोड दिए ।
यस्तै, यूएन वुमनकी सहायक राष्ट्रिय प्रतिनिधि वर्षा प्रधानले पत्रकारितामा पुरुषको संख्या तुलनात्मक रूपमा बढी रहेको उल्लेख गर्दै महिला सशक्तीकरण र लैंगिक समानताका सवालमा पुरुष पत्रकारले पनि सक्रिय रूपमा कलम चलाउनुपर्ने बताईन् ।
युरोपेली सङ्घकी टिम लिडर हेथ्री लुवागीले फेलो पत्रकारहरूले तयार गरेका स्टोरी लैंगिक समानता र महिला सशक्तीकरणका दृष्टिले प्रभावकारी रहेको बताउँदै पत्रकारलाई धन्यवाद तथा बधाई दिईन् ।

कार्यशालामा सन्तोष आचार्यले ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना र शिव भण्डारीले युरोपेली सङ्घको परियोजनामा सहकार्य तथा कार्यक्षेत्रबारे जानकारी दिएका थिए ।
नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाले नेपालमा लैंगिक समानता तथा महिला र युवतीको सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।
कार्यशालामा नेपाली टाइम्सकी सोनिया अवाले, डेटा प्रशिक्षक अरुण कार्की, अनलाइनखबरका सन्त गाह र अर्थ जर्नालिज्म नेटवर्कका रमेशप्रसाद भुसालले विपद्का समयमा स्टोरी लेखन, तथ्याङ्क पत्रकारिता, समाचार कक्षका चुनौती र अन्तर्राष्ट्रिय अवसरका लागि स्टोरी पिचलगायतका विषयमा प्रशिक्षण तथा जानकारी दिएका थिए ।









