‘एमाले चुनावी गणितमा मात्र होइन, राजनीतिमै पराजित भयो’



सुर्खेत । नेकपा (एमाले) की केन्द्रीय सदस्य पार्वती विशुङ्खेले पार्टीले निर्वाचनमा भएको हारसँगै आफ्नो राजनीतिक कार्यशैली र जनसम्बन्धबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताएकी छन्।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकमा बुधबार आफ्नो धारणा राख्दै नेतृ विशुङ्खेले एमाले चुनावी गणितमा मात्र नभई राजनीतिमा पनि पराजित भएको टिप्पणी गरिन्। उनका अनुसार निर्वाचनमा हारिए फेरि जित्न सकिने भए पनि राजनीतिमा पराजित हुँदा पार्टीलाई पुनः उभ्याउन कठिन हुन्छ।

उनले निर्वाचन समीक्षा तथा पुनर्गठनका लागि बनाइएको कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरेर खुला, तथ्यमा आधारित र सामूहिक छलफल गर्नुपर्ने माग गरिन्। पार्टीभित्र आलोचना र आत्मालोचनालाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ थियो।

विशुङ्खेले बदलिँदो समय, समाज र जनताको मनोविज्ञानअनुसार पार्टी पनि बदलिनुपर्ने बताइन्। ‘युग फेरियो, समाजको मनोविज्ञान फेरियो, सबै थोक फेरियो तर हामी आफू नफेरिने’ सोचले पार्टीलाई गन्तव्यमा पुर्‍याउन नसक्ने उनको धारणा थियो।

उनले पार्टीमा व्यक्तिकेन्द्रित प्रवृत्ति बढेकोप्रति पनि प्रश्न उठाइन्। कम्युनिष्टहरूले आफूलाई होइन, देश, पार्टी र समाजलाई केन्द्रमा राख्नुपर्ने भन्दै उनले पार्टीमा ‘म’वादको प्रवृत्ति हुर्किएको हो कि भनेर आत्मसमीक्षा गर्नुपर्ने बताइन्।

विशुङ्खेले एमालेले जनसम्बन्ध पुनःस्थापित गर्नुपर्नेमा जोड दिइन्। युवा, महिला, दलित, भुइँमान्छे, किसान, उद्यमी, पेशाकर्मी, विद्यार्थी तथा प्रविधिमैत्री युवासँग नयाँ सम्बन्ध निर्माण गर्दै जनताको कुरा सुन्ने र उनीहरूका समस्यासँगै हिँड्ने पार्टी बनाउनुपर्ने उनको भनाइ थियो।

पार्टीमा युवा नेतृत्व विकास गर्नुपर्ने भन्दै उनले अहिले ३५ देखि ५० वर्षमुनिका युवाले पार्टी र सरकार सञ्चालन गरिरहेको अवस्थामा त्यही पुस्तासँग प्रतिस्पर्धा गर्न सक्ने नयाँ युवा नेतृत्व तयार गर्न नसके आगामी निर्वाचनमा पनि चुनौती कायम रहने बताइन्।

उनले पार्टीभित्र हुने असन्तुष्टिलाई सधैँ षड्यन्त्र र प्रतिशोधका रूपमा व्याख्या गरेर संगठन बलियो नहुने बताइन्। अल्पमतको कदर र बहुमतको निर्णय स्वीकार गर्दै सबैले अपनत्व महसुस गर्ने संगठन निर्माण गर्नुपर्ने उनको सुझाव थियो।

विशुङ्खेले एमालेलाई व्यक्तिमुखी नभई संस्थामुखी र यथास्थितिमुखी नभई रूपान्तरणमुखी बनाउनुपर्ने बताइन्। जनताबाट टाढिएको पार्टी नभई जनतामाझ फर्किएको एमाले बनाउन गहिरो बहस, स्पष्ट योजना, प्रभावकारी कार्यान्वयन र परिणामको समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार