दशैँ टीकाको साइत सार्वजनिक, असोज २९ गते १० बजेर २ मिनेटमा उत्तम

काठमाडौं । यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक भएकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको हाे । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको र घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको र झण्डा पश्चिम फर्केर फेर्नुपर्ने बताइएकाे छ । असोज २६ गते मङ्गलबार फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीकाे भनाइ छ ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ। तुलजा भवानी यात्राको साइत बिहान ७ : ११ बजे रहेको छ। तुलजा भवानीलाई बिहान ८:४४ बजे स्थिरासन गराइने साइत रहेकाे छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ। याे वर्ष असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ। घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८: १९ बजे विसर्जन गरिने साइत रहेकाे र विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको समितिले जनाएकाे छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ।

त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ। त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ।