डिएसपीको नक्कली परिचय देखाएर ठगी गर्ने एकजना पक्राउ

सुर्खेत । प्रहरी नायब उपरिक्षक डिएसपीको नक्कली परिचय देखाएर ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक जनालाई पक्राउ गरेको छ । जागिर लगाइदिने भन्दै ठगी गर्ने झापाका निलम भट्टराईलाई प्रहरीले सुर्खेतमा पक्राउ गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा जागिर लगाइदिने भन्दै एक महिलाबाट १३ लाख ठगेको उजूरीको आधारमा उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

दशैँमा दैलेख ससुराली आएको भट्टराईलाई वीरेन्द्रनगर–४ रातोपुलबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदम विष्टले जानकारी दिए । ‘हामीलाई एक महिना अगाडी नै महानगरीय प्रहरी अपराध महाशाखा काठाडमौंले विभिन्न वहानामा ठगी गर्ने भट्टराई सुर्खेतमा रहेकाले पक्राउ गर्न पत्र पठाएको थियो,’ विष्टले भने, ‘कुनै जिल्लामा डिएसपी र कुनै जिल्लामा पत्रकार हुँ भन्दै रकम अशुल्ने उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।’ प्रहरीले उनको साथबाट डिएसपी लेखेको नक्कली परिचय पत्र समेत फेला पारेको छ ।

जागिर लगाई दिने प्रलोभन दिएर ठगी गरेको धेरै उजूरी रहेको जानकारी मात्रै थाहा पाएकाले थप आवश्यक कानूनी कारवाहीका लागि काठमाडौं नै पठाइएको प्रमुख विष्टले बताए । सुर्खेत आसपासका क्षेत्रमा लुकेर बसेको सूचना यसअघि नै प्राप्त भएपनि मंगलबार मात्रै पक्राउ गर्न सफल भएको उनको भनाई छ ।
भट्टाराईले दैलेख, सुर्खेत, बाँके, बर्दिया र काठमाडौंका नागरिकहरु बढी ठगिएको खुलेको छ । उनको चालचलन हेर्दा पनि प्रहरीकै डिएसपी जस्तै देखिने खालको रहेछ, त्यसैले नागरिकहरु सहजै ठगिएको हुनसक्छन् यसको विस्तृत कारवाही प्रक्रिया काठमाडौंमा हुने भएकाले नेपालगञ्जबाट हवाइ जहाजबाट काठमाडौं बुझाइसकेको प्रमुख विष्टले बताए ।
उनकाअनुसार भट्टराई यसअघि कोहलपुर बसपार्कमा रहेका पसलमा आफुहरु पत्रकार र ब्यूरो प्रहरी रहेको भन्दै रकम मागेको आरोपमा पक्राउ परिसकेका व्यक्ति रहेको खुलेको छ ।