अविरल वर्षाका कारण हुम्लामा २० घर भत्किए

हुम्ला । अविरल वर्षाका कारण हुम्लामा २० घर भत्किएका छन् ।  १ सय घर उच्च जोखिममा परेका छन् । सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएकाे र १० घरमा आंशिक क्षति पुगेकाे वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।  ६ घर भत्किँदा करिब ८ लाख बराबरको क्षतिकाे अनुमान गरिएकाे उनले बताए ।

सर्केगाड-२ रिप गाउँमा एक घर भत्किएको छ । सर्केगाड-४ को साँयामा ११ घरमा क्षति पुगेकाे छ । अदानचुली गाउँपालिका-१ को कल्खेमा पहिराेले तीन घरमा क्षति गरेको छ ।दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेकाे प्रहरीले जानकारी दिएकाे छ ।

अदानचुली गाउँपालिका-४ मा लौठीका ३० घर पहिरोको उच्च जाेखिममा छन् । लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेकाे वडाध्यक्ष दत विष्टले जानकारी दिए ।