सुर्खेतमा वम विस्फोट हुँदा दुई जना घाइते


सुर्खेत । सुर्खेतमा वेवारिसे अवस्थामा छाडिएको वम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर–७ कटकुवा सामुदायिक वनमा घाँस दाउरा संकलन गर्ने क्रममा वेवारिसे वम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा वीरेन्द्रनगर १२ इत्रामका १४ वर्षीय नरेश नेपाली र २१ वर्षीय लिला परियार रहेका छन्।

उनीहरुको देउती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । मुखमा छर्रा लागेकाले नरेशको आँखा अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले सो क्रममा वम छुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

हरेक शनिवार सो सामुदायिक वन सार्वसाधारणका लागि खुला गरिने भएकोले उनीहरू घाँस दाउरा लिन गएको बेला वेवारिसे वममा दवाव भएपछि विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।