जाडाेमा छालाकाे स्याहार कसरी गर्ने ?

जाडो सुरु भएसँगै छाला सुक्खा हुन थाल्छ । चिसोमा छाला रातो हुने, फुट्ने, खस्रो हुनेलगायत छालासम्बन्धी समस्या देखिन्छ । विशेषगरी संवेनदशील छाला भएकालाई यस्तो समस्याले झनै सताउँछ । जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ ।

जाडोमा छाला सुख्खा हुनेबित्तिकै धेरैजसोले जे पायो त्यही क्रिम दल्छन् । त्यसो गर्नाले छालाको समस्या समाधान हुनुको साटो झन् बढेर जान्छ । कतिपयलाई छालाको एलर्जीसमेत हुन्छ । त्यसैले जाडोमा म्वइस्चराइजर छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्छ । सबैको छाला एकै किसिमको नहुने भएको आफ्नो छालाअनुसारको म्वइस्चराइजर छनोट गर्नुपर्छ ।

जाडोमा धेरैले सनस्क्रिन प्रयोग गर्दैनन् । तर, जाडो होस् वा गर्मी छालाको सुरक्षाको लागि अनिवार्य रुपमा सनस्क्रिनको प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको किरणबाट बचाउँछ ।

हात धुँदा प्रयोग गर्ने साबुन पनि नरम खालको प्रयोग गर्नुपर्छ । जाडोमा सकेसम्म एन्टी–ब्याक्टेरियल साबुन प्रयोग गर्नु हुँदैन । यस्तो साबुन कठोर हुन्छ, जसले हात सुख्खा बनाउँछ र फुटाउँछ । त्यसैले जाडोमा सकेसम्म म्वइस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ । यसले हातलाई नरम बनाउँछ ।

जाडो महिनामा हातको छाला जोगाउन पञ्जा लगाउनुपर्छ । विशेषगरी स्कुटर वा बाइक चालकले हातको छाला सुक्खा हुनबाट जोगाउन अनिवार्य रुपामा पञ्जा लगाउनु पर्छ । यसो गर्नाले चिसो हावाले छालालाई हानी पुर्‍याउन पाउँदैन ।

जाडोमा चिसो हुन्छ भनेर धेरैजना पानी पिउन अन्कनाउँछन् । तर, छालाको स्वास्थ्यको ध्यान दिनेले प्रशस्त पानी पिउनुपर्छ । जाडो होस् वा गर्मी महिना छाला स्वस्थ र चम्किलो राख्नका लागि पानीले निकै ठूलो सहयोग गर्छ ।

त्यस्तै, जाडो महिनामा धेरैको तातो पानीले नुहाउने बानी हुन्छ । यो गलत बानी हो । जाडो महिनामा धेरै तातो वा चिसो पानीले नुहाउँदा छालालाई असर गर्छ । जाडो महिनामा जहिल्यै मनतातो पानीले नुहाउनुपर्छ । नुहाएपछि हल्का भिजेको शरीरमा नरिवलको तेल वा लोसन लगाउनु पर्छ । यसले पनि शरीरलाई सुख्खा हुनबाट बचाउँछ । कसैको निकै सुख्खा छाला छ भने नुहाउने पानीमा नुन राखेर नुहाउँदा पनि छाला सुख्खा हुन पाउँदैन ।