बाजुरामा स्थानीय तहको निर्वाचनका लागि पाँच सयभन्दा बढि कर्मचारी खटाइने

बाजुरा । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न बाजुरामा पाँच सय ५८ जना कर्मचारी खटाइने भएको छ । एक सय १२ मतदान अधिकृत र एक सय १२ जना सहायक मतदान अधिकृतसहित पाँच सय ५८ जना कर्मचारी खटिन लागेका हुन् ।

जिल्लाका नौ स्थानीय तहमा ७० वटा मतदान केन्द्र र एक सय १२ मतदानस्थल छन् । मतदान केन्द्र र मतदानस्थल अनुसार कर्मचारी व्यवस्थापनमा पाँच सय ५८ जना कर्मचारीको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

निर्वाचनमा कर्मचारी संघ र संगठनका पदाधिकारी भने नखटाइने कार्यालय प्रमुख नवराज अवस्थीले बताए । जिल्लामा कुल ४२ हजार एक सय ५१ पुरुष र ४० हजार पाँच सय ३७ महिला गरी जम्मा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए ।