काठमाडौं । युरोपेली मुलुक नेदरल्याण्डमा आइतबारदेखि लकडाउन लगाइने भएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आजदेखि लकडाउन लगाइने भएको हो ।
शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ थियो ।
त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने आरटीएल न्युजले जनाएको छ ।
यसबाहेक, अधिकांश इन्डोर खेलकुद केन्द्र बन्द गरिने छ तर स्विमिङ केन्द्र भने खुला राखिने छ । तर बाह्य खेलकुद स्थल सबै उमेर समूहका लागि खुला राखिने छ ।
यसैबीच, शनिबार नै विश्व स्वास्थ्य संगठनले समुदायमा संक्रमण देखिएका मुलुकमा ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिइरहेको बताएको छ । डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ ।
ए.के. सञ्चार । ४ पुष २०७८, आईतवार ११:५४