जनकल्याण सहकारीको २७ औँ स्थापना दिवस सम्पन्न

सुर्खेत । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ ‍औँ स्थापना दिवस सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगर–१ मा रहेको सहकारी संस्थाको २७ ‍औँ स्थापना दिवस सम्पन्न भएको हो ।

२०५२ साल जेठ २८ गते स्थापना भएको सहकारीको २७ औँ स्थापना दिवसका अवसरमा सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उत्कृष्ट शेयर सदस्य सम्मान, वक्तृत्वकला प्रतियोगिता, जेष्ठ सदस्य सम्मान र रक्तदान जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको थियो । शनिबार भएको कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष शोभानसिं वलीले ७१२५ रुपैयाँबाट सुरु भएको सहकारी आजको दिनमा आइपुग्दा २५ करोड भन्दा बढीको कुल पुँजी हुनु सुखद कुरा भएको बताए ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि एवं वीरेन्द्रनगरका पूर्व मेयर बालाराम शर्माले सहकारी संस्था सबैको साझा संस्था भएको हुँदा यसको समग्र वृद्धि विकास, समृद्ध र दरिलो बनाउनका लागि सबै पक्षको सहयोग हुनुपर्ने बताए ।

संस्थाले मृत्यू संस्कार राहत २० हजारसम्म, सुत्केरी सदस्य पोषण खर्च २ हजार, अन्य विविध राहत १० हजारसम्म, जेष्ठ सदस्य सामाजिक सुरक्षा भत्ता मासिक एक सय लगायतका राहतका कार्यक्रमहरु सञ्चालन गरिरहेको संस्थाका कार्यवाहक अध्यक्ष खगेन्द्र प्रसाद थानीले जानकारी दिए ।

यस्तै, संस्थाले विभिन्न विधामा उत्कृष्ट हुने ६४ जना शेयर सदस्यलाई सम्मान गरेको छ साथै सामाजिक क्षेत्रमा क्रियाशिल पत्रकार यश कुमार चपाई र साहित्यकार तथा लेखक रघविर विश्वकर्मालाई सामाजिक व्यक्तित्वको रुपमा सम्मान गरेको छ ।

सहकारी अभियानलाई अगाडी बढाउने कार्यक्रमा योगदान गरे वापत यस जनकल्याण सहकारी संस्था विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानीत भएको संस्थाका व्यवस्थापकले जानकारी दिए । जनकल्याण सहकारीले सुर्खेत जिल्लाको जेष्ठ सदस्य, राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनबाट उत्कृष्ट कारोबार संस्था एवं राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनबाट कर्णाली प्रदेश स्तरिय उत्कृष्ट सहकारीको सम्मान लगाएतका पुरस्कार तथा सम्मान प्राप्त गरेको छ ।

हाल संस्थाको कुल पुँजी २५ करोड भन्दा बढि, २ हजार ६ सय शेयर सदस्य, २ करोड ५० लाख शेयर पुँजी रहेको छ । १९ करोड ९० लाख बचत संकलन र २० करोड ६५ लाख ऋण लगानी गरि सहकारी संस्थाले यस क्षेत्रका नागरिकको वित्तिय आवश्यकता पुरा गरिरहेको छ ।

वित्तिय कारोबारका अतिरिक्त सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । हरित विद्यालयका लागि ट्रिगार्ड सहयोग, खेलकुद विकासका लागि आर्थिक सहयोग, रक्तदान जस्ता सामाजिक क्रियाकलाप समेत जनकल्याण सहकारीले सञ्चालन गरिरहेको छ ।