घोषणापत्रमा भएका कुरा लागु गर्न सकेको दिन विजय उत्सव मनाउँला –बालेन

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् । जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न उनले आग्रह पनि गरेका छन् । बालेनको अग्रताभन्दा गन्न बाँकी रहेको मत कम भएपछि उनको जित सुनिश्चि भएको हो ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ ।

मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।आफ्नो जित सुनिश्चित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले विजयी जुलुस ननिकाल्ने र घोषणापत्रमा समेटिएको विषय लागु गरेको दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका हुन् ।