काठमाडौं । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । आज नै सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।
नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ २८ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
भदौ २८ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन् ।
ए.के. सञ्चार । २७ भाद्र २०७९, सोमबार १२:०९