मुगुको सोरु गाउँपालिकाका प्रमखु प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सुर्खेत । मुगु जिल्ला सोरु गाउँपालिकाका प्रमखु प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष, सब–इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्धा गरिएको हो ।

गाउँपालिकाको वडा नं.६, सोरुकोटमा रहेको खौलाचौरमा फिल्ड निर्माण गर्ने क्रममा समथर चौर भत्काई कुनै हार्ड रक समेत नभएको अवस्थामा प्राविधिकले गलत प्रतिवेदन तयार गर्न लगाई अस्वभाविक लागत अनुमान र प्राविधिक मूल्याङ्कन तयार गरी रकम हिनामिना गरेको उजुरीमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

खौलाचौर फिल्ड निर्मांण कार्यमा उक्त फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको नगरेको कामको मूल्याङ्कन गरी नापी किताब तयार गरी उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ ३६ पैसा रकम भुक्तानी गरेका अख्तियारको ठहर छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसूर भएकोले उनीहरुले ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै उनीहरुले फिल्डमा नभएको कार्यसमेत भएको भनी गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच एवं नापी किताब र उपभोक्तासम्बन्धी बिल स्वीकृत गरी गलत प्रतिवेदन तयार गरेकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरसमेत भएको हुँदा परशुराम उपाध्याय, मनोज धामी र जगत बहादुर मल्ललाई ऐ.ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन समेत मागदाबी लिइएको छ ।

यसैगरी सोरुकोट खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवि छत्याल (शाही) ले सोरु गाउँपालिका, वडा नं. ६ खौलाचौर फिल्ड निर्मांण कार्यमा गाउँपालिकासँग गरेको सम्झौता विपरित फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई भुक्तानी लिने दिने कार्य गरी सोरु गाउँपालिकालाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूर गरेको देखिँदा उनीहरुले उक्त रकम ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन एवं बिगोसमेत निजहरुबाट ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम जफत हुन समेत मागदावी लिइएको छ ।

साथै सोरु गाउँपालिका वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष मन प्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागी सिफारिस गरी गलत प्रतिवेदन गरेको र उनले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूर गरेको देखिँदा निज मन प्रसाद भट्टलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।