काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने सिर्जना सिंहको दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरासरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा कांग्रेस नेतृ सिंहले आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौं बनाउने बताइन् ।

वर्षौंसम्म सक्रिय राजनीति गरे पनि कहिले पदको अपेक्षा नगरेको उनको भनाइ छ । महानगरको हकमा युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने,पर्यटकीय,व्यापारिक केन्द्र बनाउने,स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर काम गर्ने कांग्रेस नेतृ सिंहले बताइन् ।

संकल्पकी वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी रजनी थापाले महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेर माथि उठाउनुपर्ने बताइन् ।