सुर्खेत गोली काण्ड : गिरीमाथि गाेली प्रहार भएको एक महिना भयाे, मुख्य शङ्कित व्यक्ति फरार

प्रहरी भन्छ खाेजी कार्य जारी छ

सुर्खेत । सुर्खेत तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि फागुन १२ गते गोली प्रहारकाे प्रयास भएको साेमबार (आज) एक महिना पुगेकाे छ ।

गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले फागुन १३ गते सार्वजनिक गरेकाे थियाे ।

प्रहरीले पत्रकार सम्मेलनमा घटनाका मुख्य योजनाकारबारे जानकारी रहेको तर तत्काल परिचय खुलाउँदा गोपनीयता भङ्ग हुने भन्दै उनलाई मुख्य शङ्कित व्यक्ति मात्र भनेका थिए ।
तर, घटना घटेकाे एक महिना पुग्दासम्म पनि प्रहरीले मुख्य याेजनाकार भनिएका व्यक्तिलाई समात्न सकेकाे छैन् ।

वीरेन्द्रनगर-३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो ।

भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो ।

प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका-२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर-४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्तिकाे रुपमा सार्वजनिक गरेकाे थियाे ।

पीडित विनाेद गिरीले भने आफूले न्याय नपाएको बताउदै आएका छन् । घटना घटेकाे एक महिना वितिसक्दा पनि प्रहरीले मुख्य याेजनाकारलाई समात्न नसकेकाे बताए ।

राजन गिरी माथि पनि खासै गहिरिएर अनुसन्धान नभएको विनाेदकाे भनाइ छ ।

विनाेद गिरीका अनुसार राजनमाथि प्रहरीले गहिरो अनुसन्धान गरे घटनामा संलग्न योजनाका मुख्य व्यक्तिहरु एक छिनमा नै पत्ता लाग्ने दाबी गरे ।

उक्त घटनामा ठुलाे सञ्जाल रहेकाे र साेहि सञ्जालसम्म प्रहरी पुग्न नसकेकाे गिरीले भने,` राजनले प्रयाेग गर्ने सिम बिनाको मोबाइल प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । सिम राजनले घटना हुनु भन्दा अगाडि भाचेर फालेकाे हुँदा प्रहरीले उक्त नम्बर समेत पत्ता लागेको छैन् । प्रहरीले मुख्य याेजनाकारमा राजन र सन्ताेष गिरी भनेकाे छ । तर, यति मात्रै नभएर याे भन्दा ठुलाे सञ्जाल बाहिर बसेकाे छ । उनीहरुलाई तुरुन्तै कानुनकाे कठघरामा ल्याउनु पर्छ ।`

यस्तै, विनोदकी आमा शारदा गिरीले छोराको हत्या गर्ने योजना बनाएका मुख्य व्यक्ति पक्राउ नपर्दा रातभरि निन्द्रा नलाग्ने गरेकाे बताइन् ।

महिनाै पुग्दा पनि प्रहरीले घटनामा संलग्न भएकालाई प्रकाउ गर्न सकेकाे छैन विनाेदकी आमाले भनिन्न,`गोली हान्नेहरू घरमा आउने हुन् कि भनेर डरले रातभरि निन्द्रा लाग्दैन । बाहिर हिँडडुल गर्न पनि डर लाग्छ । छाेरा कतै गएछ भने पनि मुटुले ठाउँ छाेड्छ । कतिखेर घर आउला भन्ने हुन्छ ।`

प्रहरी बयानमा राजन र सन्ताेष गिरीले टायल मार्बलको काम गर्ने कामदार सुर्खेत आएको र उनीहरूलाई होटेलमा बास बस्ने व्यवस्था मात्रै मिलाइदिएकाे बयान दिएका छन् ।

अनुसन्धानको क्रममा घटनामा संलग्न भएको आशङ्कामा थप एक जनालाई काठमाण्डौंमा पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार घटनामा संलग्न दुई जना फरार रहेकाे बताए । ` हामीले गहिरो रुपमा अनुसन्धानमा नै छाैँ । संलग्न व्यक्तिहरु नेपालमा नभएर भारतमा छन् भन्ने छ । उनीहरुकाे खाेजी भइरहेको छ । तर, केही समय लाग्छ उनले भने । `