जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी

रोल्‍पा । जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेको विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले बताए ।

विश्वविद्यालय सुधारका लागि क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बुँदे मागमा स्थानीय आठबुँदे मागसमेत समावेश गरी क्याम्पस अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

विषयगत उपप्रध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्थापनलगायत केन्द्रसँग सम्बन्धित ३६ बुँदे तथा छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्तालगायत आठबुँदे स्थानीय माग पेस गरिएको जिसीले बताए ।

केन्द्र र स्थानीयस्तरका माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने विद्यार्थीहरुको भनाइ छ ।