कालिकोटका धामीझाँक्री बालविवाह न्यूनीकरणको अभियानमा

सुर्खेत । कर्णालीका जिल्लाहरू भौगोलिक रूपमा विकट छन् । अहिले नागरिकको घरदैलोमा सरकार पुगेको छ । तर, यहाँका स्थानीय बासिन्दाले भोग्दै आएका दुःख पीडा अझै पनि उस्तै छन् ।

अन्धविश्वास र रुढीवादी परम्पराले जकडिएको कर्णालीका विकट गाउँहरूमा स्थानीय सरकारले विभिन्न जनचेतनाका कार्यक्रम गरिरहेको छ । कालिकोट जिल्लाका केही स्थानीय तहमा धामी झाँक्री बालविवाह न्यूनीकरण अभियानमा लागेका छन् ।

धामी झाँक्री बालविवाह न्यूनीकरण गर्नका लागि एकजुट भएका हुन् । शुभ कालिका गाउँपालिका र तिल गुफा नगरपालिकाका धामी झाँक्री बालविवाह न्यूनीकरणको अभियानमा होमिएका छन् ।

कालिकोटमा उमेर नपुगेर सानैमा विवाह गर्नेको सङ्ख्या वर्षेनी बढ्ने गरेको छ । उक्त बालविवाहलाई न्यूनीकरण गर्नका लागि उमेर नपुगेर विवाहको आयोजना हुने विवाह उत्सव, भोजभतेर बहिस्कार गर्ने निर्णय गरेका छन् ।

‘पहिला हामी पनि यसमा अनविज्ञ हुँदा सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने गरेका थियो । तर, बालविवाहमा पार्ने असरहरू स्थानीय सरकार, सङ्घ र संस्थाले यसको विषयमा बुझाएपछि बालविवाह रोक्ने अभियानमा लागेको छौँ ।’ धामी तीर्थबहादुर शाहीले भने ।

उनले अगाडि भने, ‘बालविवाहका बारेमा जानकार नहुँदा पहिला बिरामी हुँदा झारफुक गर्थे भने अहिले अस्पताल लैजानपर्छ भनेर जानकारी दिने गरेका छौँ । उमेर नपुग्दै विवाह गर्दा विभिन्न समस्या आउँछ भनेर गाउँ, टोल र छरछिमेकमा सिकाउने र बुझाउने गरेका छौ । विवाहमा हामीलाई बोलाउँछन् अहिले हामीले २० वर्ष मुनिको विवाह नै बहिष्कार गर्ने गरेका छौँ ।’

तिलागुफा नगरपालिकाका नगरप्रमुख शङ्कर उपाध्यायले अभियानले पारेको प्रभाव एक वर्ष पछि मात्रै थाहा पाउन सकिने बताए । रुढीवादी परम्पराले महिलामा पारेको प्रभाव, बालविवाहले पारेको असर र बिरामी हुँदा धामीझाँक्रीले हैन अस्पतालमा उपचार गर्नुपर्छ भन्ने मुख्य उद्देश्यमा साथ यो अभियानको थालनी गरेको शुभ कालिका गाउँपालिकाका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले बताए ।

शुभ कालिका गाउँपालिकाका ८ वडा र तिल गुफा नगरपालिकाका ११ वडामा उक्त अभियान सुरु गरिएको छ । बालविवाह न्यूनीकरणका अभियानका लागि सेभ द चिल्ड्रेन र कि डार्क नेपालको आर्थिक सहयोग र स्थानीय सरकारको समन्वय रहेको छ ।