कर्णालीमा मन्त्रालय बाँडफाँट टुंगियो‚ कसको भागमा कुन ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।

मङ्गलबार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गरिएको छ । नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले मङ्गलबार विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गरेका जानकारी दिएका छन् ।

मन्त्रालयको टुंगो लाग्यो सचेतक पछाईले भने,‘भोली माओवादीबाट मन्त्रीले सपथ लिने भन्ने छ । त्यसपछि बिहीवार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्री परिषदले पूर्णता पाउनेछ ।’

यस्तै, सत्तारुढ दलहरू एमाले र माओवादीबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार गठनमा सकस भएको थियो । तर, अब भने सहज भएको छ । एमाले र माओवादीबीच मङ्गलबार (आज) मन्त्रालय भागबन्डाको सहमति जुटेसँगै बुधवार माओवादीबाट मन्त्रीले सपथ लिने माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।

उनका अनुसार भोलि केही मन्त्रीहरुले शपथ लिने बताए ।

माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय आफ्नो भागमा पारेको छ भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ । यो भन्दा पहिला सबै मन्त्रालयमा सहमति जुटे पनि सामाजिक मन्त्रालयमा कुरा मिलेको थिएन ।

मन्त्रालयको भागवण्डा टुंगोमा पुगेपनि माओवादी भित्र यसअघिका मन्त्रीहरु नै दोहोरिने की नयाँ सहभागी हुने भन्ने विषय अन्यौल देखिएको छ ।