मुम्रामा स्वास्थ्य तथा आपत्तकालिन पूर्व तयारी र प्रतिकार्य योजना निर्माण सम्बन्धी गोष्ठी

कालिकोट । स्वास्थ्य तथा आपत्तकालिन पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा वडा स्तरिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सान्नित्रिवेणी गाउँपालिका वडा नं ८ को वडा कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इच) परियोजना अन्तरगत मुम्रामा दुई दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न गरिएको हो । नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाका मन्त्री तपेन्द्र महतराको प्रमुख आतिथ्यतामा र वडा अध्यक्ष नौलासिंह बुढाको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

तालिममा वडा स्तरिय विपद् व्यवस्थापन समिति र स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको तालिममा परियोजनाका कार्यक्रम संयोजक अभिषेक ओझाले सहजिरकण गरेका थिए । गोष्ठीमा विपद् जोखिम व्यवस्थापन तथा आपतकालीन व्यवस्थापन सम्बन्धि नीतिगत व्यवस्था र संरचनाको छलफल गर्नुका साथै वडा स्तरिय स्वास्थ्य आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य योजना समेत तयार गरिएको परियोजनाका पालिका संयोजक श्याम गिरीले जानकारी दिए । उनका अनुसार वडा नं ८ मा खानेपानी योजना निर्माण, स्वास्थ्य संस्थाको भवन निर्माण, प्रसुती गृहमा आवश्यक समाग्री व्यवस्थापन, शौचालय निर्माण गर्ने, सोलारको व्यवस्थापन, वडा र नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गर्ने योजना बनाइएको छ ।

यस्तै विपद् व्यवस्थापनका लागि समिति गठन र कोष स्थापना, दक्ष जनशक्ति निर्माण गर्ने, भौतिक समाग्रीको व्यस्थापन गर्ने, जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, जोखिम बस्ती स्थानान्तरणका लागि सुरक्षित ठाउँको खोजि गरी नमुना बस्ती निर्माण गर्ने, चट्याङ् र भुकम्पप्रतिरोधात्मक घर निर्माण कार्यक्रम संचालन गर्ने, खाद्यन्न समाग्री भण्डारण गर्ने, स्वास्थ्य समाग्री व्यवस्थापन गर्नेलगायतका योजनाहरु बनाइएको छ । यि योजनाहरु कार्यान्वयनमा परियोजना, गाउँपालिका र वडा पालिका, विपद् व्यवस्थापन समितिको सहयोग तथा सहकार्य रहने परियोजनाका पालिका संयोजक गिरीले जानकारी दिए ।

गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कालिकोटका मन्त्री तपेन्द्र महतराले स्वास्थ्य तथा आपत्तकालिन पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा सम्पूर्ण सरोकारवालाहरुको समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । उनले विपद्बाट उत्पन्न हुने समस्याहरुसँग जुध्न यि योजनाले सहयोग गर्ने भन्दै कार्यान्वयनमा जोड दिए । उनले यि योजना तथा गतिविधि संचालन गर्न परियोजनाले सहयोग र सहकार्य गरेर अघि बढ्ने बताए ।