एमाले-कांग्रेस गठबन्धनले देशलाई निकास दिनेछ: ज्ञवाली

सिमकोट – नेकपा (एमाले)का उप–महासचिव प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेससँगको गठबन्धनले देशलाई अस्थिरता, भ्रष्टाचार, र आर्थिक संकटबाट मुक्त गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। हुम्लामा आयोजित दुईदिने पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा ज्ञवालीले वर्तमान सरकार कुनै कुर्सीको खेल नभई देशलाई निकास दिन गठित भएको बताए।

उनका अनुसार, कांग्रेस र एमाले सैद्धान्तिक रुपमा फरक भए पनि, देशको प्रमुख राजनीतिक शक्ति र प्रतिस्पर्धीको रूपमा यो गठबन्धन अनिवार्य थियो। “२०४७ सालदेखि विभिन्न संविधान संशोधन र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कार्यमा पनि यी दुई दलको सहकार्य निर्णायक साबित भएको हो,” ज्ञवालीले भने।

ज्ञवालीले सरकार गठनपछि सकारात्मक संकेतहरू देखिएको दावी गर्दै अर्थतन्त्र लयमा फर्कन थालेको, शेयर बजारमा सुधार देखिएको, र वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको बताए। साथै, सहकारीमा ठगिएका पीडितहरूलाई न्याय दिलाउन सरकार सक्रिय रहेको र रोकिएका विकास निर्माणका काम पुनः तिब्र गतिमा अघि बढेको उनले उल्लेख गरे।

ज्ञवालीले हुम्ला जिल्लाको विकासलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै कर्णाली कोरिडोरलाई लाइफलाइनको रूपमा विकास गर्न सरकार तत्पर रहेको पनि बताए।