
सुर्खेत । तीजका मौलिक भाका र चेलीबेटीको मनोभावनालाई समेटेर गायिका हरिमाया कार्कीले नयाँ गीत ‘छोरीको मर्म’ सार्वजनिक गरेकी छन्। गीत बुधबार हरिमाया कार्की अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
यसपालि गायिका कार्कीले तीजलाई दुईवटा पृथक गीतमार्फत समेटेकी छन्। दुई साता अघि सार्वजनिक भएको ‘मधु’ पछि ‘छोरीको मर्म’ उनकाे दोस्रो तीज गीत हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्षसमेत रहेकी कार्कीले यो गीतमा शब्द, संगीत र स्वर तीनवटै जिम्मेवारी आफ्नै काँधमा लिएकी छन्। खेमराज गौतमले संगीत संयोजन गरेको गीत मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
कर्णालीका भौगोलिक परिवेश, चेलीको भावनात्मक अवस्था र तीजको सांस्कृतिक सन्दर्भलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। गीतको कथा एउटा यस्तो चेलीको हो, जसले यस वर्ष तीजमा माइती जान पाइनन्।
तर घरपरिवार आमाजु, देउरानी, सासुले उनलाई सान्त्वना दिँदै अर्को वर्ष माइती जान प्रेरित गर्छन्। माइतीघर जान नपाउँदा भेरी र कर्णाली नदीहरू धमिलो देखिन्छन्, सिंगो प्रकृति नै रित्तिएको जस्तो लाग्छ यस्तै संवेदना गीतमा व्यक्त गरिएको छ।

गीतको भिडियोलाई थप प्रभावशाली बनाउन कर्णालीका रमणीय पर्यटकीय स्थलहरूमा छायांकन गरिएको छ। निर्देशन र सम्पादन निर्मल प्याकुरेले गरेका हुन् भने नृत्य निर्देशन चन्द मन्दिर र हेमन्त नेपालीले सम्हालेका छन्। भिडियोमा एमन आचार्य, माया थापा, लक्ष्मी गिरी, समिक्षा सुनार, शिलाकुमारी कुमाललगायत कलाकारको अभिनय देख्न सकिन्छ।
हरिमाया कार्कीका अनुसार ‘छोरीको मर्म’ केवल तीजको गीत नभई नेपाली हिन्दू महिलाको भोगाइ, पीडा र मनको आवाज समेटिएको सांगीतिक दस्तावेज हो। विशेषतः कर्णाली क्षेत्रका चेलीहरूको भावनालाई समेट्दै उनले यो गीतमार्फत माइतीप्रतिको आत्मीयता, समाजमा चेलीको स्थान र तीजको वास्तविक मर्म उजागर गर्न खोजेकी छन्।
गायिका कार्कीको यो सिर्जना तीजको रमझमभन्दा पर जान खोज्ने, चेलीका आँखा झझल्काउने र दर्शकलाई सोच्न बाध्य पार्ने एक संवेदनशील प्रयास हो।
भिडियो
