सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् ।
शाहीकाे क्षयरोगबाट मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए । बिसीका अनुसार मृतक शाही विगत ६ महिना देखी बिरामी रहेकाे बताए । उपचार गर्न नमान्नेपछि भदौ ३१ गते सम्झाई बुझाई गर्दा उपचार गर्न सहमति भएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्यकर्मी विसीले जानकारी दिए ।
उनले भने,`गुराँस गाउँपालिका दैलेखकाे सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा खकार चेक गर्दा क्षयरोग रोग देखिएको थियो । क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा राउटे समुदाय मन्जुर नहुँदा अस्पतालले डिस्चार्ज गर्दिएकाे थियाे । फर्किँदै गर्दा बाटोमा शाहीको मृत्यु भएको हो ।`
मृतक शाहीलाई गत भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियाे । उनको उपचार सम्भव नभएपछि राउटे समुदाय बसोबास गरेको स्थान गुराँस गाउँपालिका १ सिमेसाल फर्किँदै गर्दा वुधवार राती ९ बजे सुर्खेतको कल्यानकाँधमा उनको मृत्यु भएको स्वास्थ्यकर्मी बिसीले जानकारी दिए ।
मृतक वृषबहादुर शाहीसँगै राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । हाल यो समुदाय गुराँस गाउँपालिका १ को सिमेसालमा बसोबास गरिरहेका छन् ।
ए.के. सञ्चार । ३ आश्विन २०८१, बिहीबार १४:१८