डब्लूएचओले भन्यो : नेपालमा कोरोना सुरु मात्रै हो, परिस्थिति झन् नराम्रो हुनेवाला छ !

काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा कोरोनाको अवस्था झन् बिग्रिने चेतावनी दिएका छन् ।

नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोसले संक्रमणको अवस्ठा अहिले भन्दा पछि झन् बिग्रिने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमसँग अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् ।

‘यो सुरुवात मात्र हो। अब निकै केसहरू बढ्नेवाला छ। आगामी दिन, हप्ता र महिनामा धेरै नै केस देख्‍नेछौँ। परिस्थिति अझै नराम्रो हुनेवाला छ,’ डा‌ जोसले भने ।

तर कोभिड–१९ विरुद्धको लडाईंमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनको सुझाव छ । सरकारले मात्रै यो संकटसँग जुध्न नसक्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो । डब्लूएचओले हालै खोप वितरणमा सबैको पहुँच होस् भनी कोभेक्स नामको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।