वीरगन्जका मेयरकाे परिवारका सदस्यसहित पर्सामा ४५ जनामा काेराेना, साेमबारबाट निषेधाज्ञा

वीरगन्ज । पर्सामा थप ४५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा शनिबार गरिएकाे परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । कोरोना संक्रमितमध्ये १४ जना महिला छन् ।

नारायणी अस्पतालका डा मदन उपाध्यायका अनुसार संक्रमितमध्ये अधिकांश मास टेस्टका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पिसिआर गराएकामा पनि कोरोना देखिएको छ। संक्रमितमध्ये ४३ जना वीरगन्जका छन् भने सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका १-१ जना छन् ।

काेराेना संक्रमण देखिनेमा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीकाे परिवारका सदस्य पनि छन् । यसअघि मेयर सरावगी नै काेराेना संक्रमित भएका थिए । उनकी श्रीमती, छोरा, छोरी र ज्वाइँमा पनि संक्रमण देखिएको हो।

वीरगन्ज महानगरपालिका-४ विर्तास्थित कन्या माविको क्वारेन्टनबाट संकलन गरिएको १ सय ४९ जनाको स्वाब परीक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै मास टेस्टिङका क्रममा स्वाब संकलन गरिएका वीरगन्ज महानगरपालिका ११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै मगनुस फर्माका ५ जना कर्मचारी, वीरगन्ज–३ छपकैया र वीरगन्ज–११ श्रीपुरका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताए।

वीरगन्जमा शनिबारसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।

काेराेना भाइरसकाे संक्रमण समुदायस्तरमा फैलिएकाे निष्कर्ष निकाल्दै जिल्ला सुरक्षा समिति पर्साको बैठकले सोमबार बिहानदेखि जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।