काठमाडौंमा आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइँदै


काठमाडौ– कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बाट निर्धारित केन्द्रबाट खोप लगाउने कार्यक्रम रहेको बताइएको छ । खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो ।

चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन् । खोपका लागि परिचय खुल्ने फोटो सहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ ।