सुर्खेतमा दलित महिलालाई स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा नगरपालिकाभित्र गठन गरिएका दलित महिला समूहमा आवद्ध दलित महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

बुधवार वीरेन्द्रनगर नगरपालिका —१ मा दलित महिला संघले दलित महिलाहरुको मानवअधिकार सुदृढिकरण परियोजनामार्फत गठन गरेका समूहमा आवद्ध दलित महिलालाई स्वास्थ्य सामग्री वितरण सुरु गरिएको हो ।

दलित महिलाहरुलाई कोभिडबाट सुरक्षित रहने उपायहरु जानकारी गराउँदै मास्क, सेनिटाइजर र साबुन वितरण गरिएको दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले बताइन् । उनले आर्थिक विपन्न दलित महिलालाई समूहमा आवद्ध गराएर बचत गराउन अग्रसर, सामाजिक विकृतिविरुद्ध सचेतना गराउन र अहिलेको कोभिड रोगबाट बच्ने उपायका वारेमा पनि जानकारी गराइएको उल्लेख गरिन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा सदस्य डम्बरबहादुर नेपाली र बुद्धिसरा विकले स्वास्थ्य सामग्रीहरु थोरै भए पनि यसको सदुपयोगले रोगबाट बच्न सकिने बताए । उनीहरुले कोभिडबाट बच्न आफूहरु नै सचेत र सुरक्षित रहन आग्रह गर्दै अरुलाई पनि हौसला प्रदान गर्न जोड दिए ।

दलित महिला संघका सचिव खगिसरा वलीले वीरेन्द्रनगर नगरपालिकाभित्र दलित महिला संघले गठन गरेका १० वटा समूहमा आवद्ध करिव अढाई सय दलित महिलाहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको बताइन् ।