सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव फेला

सिन्धुपाल्चोक (मेलम्ची) । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो देखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ ।

मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु ६ का च्याङ्बा तामाङ छन् ।

जिल्ला प्रहरीका अनुसार अहिले सम्म दुई पक्की मोटरबेल सहित आधा दर्जन झोलुंगे पुल र घर बगेको छ । हिजो देखि परेको अबिरल बर्षाका कारण देशका बिभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा पनि औँल्याएको छ ।

यसैबीच, गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले बताए ।