कर्णालीका तीनजना मन्त्रीलाई तल्काल राजीनामा दिन एमालेको निर्देशन

 

 

सुर्खेत । एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए । नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको हो ।