दैलेखमा पाठ्यपुस्तकहरू सरकारको निर्देशन विपरीत वितरण

दैलेख । दैलेखका विभिन्न विद्यालयहरूमा अहिले पाठ्यपुस्तक वितरण भइरहेको छ । वितरण गरिएका अधिकांश पाठ्यपुस्तकहरू सरकारको निर्देशन विपरीत वितरण भएको पाइएको छ ।

जनक शिक्षा सामग्री मार्फत सरकारले जारी गरेको नयाँ नक्सा अंकित पाठ्यपुस्तक बिक्री वितरण गर्नु गराउनु भनेर दिएको निर्देशन दैलेखमा लागु हुन सकेको छैन । कतिपय पुस्तक बिक्रेताहरूले पुरानै नक्सा अंकित पुस्तक विद्यार्थी समक्ष पु¥याएका छन् ।

‘दैलेखको डुगेश्वर गाउँपालिका, नारायण नगरपालिका, भगवती माई गाउँपालिका लगायतका विभिन्न पालिकाका विद्यालयहरूमा वितरण गरिएका अधिकांश पुस्तकहरूमा पुरानै नक्सा देख्न पाइन्छ । कक्षा ८ का विद्यार्थीहरुले पाएको किताबमा पुरानै नक्सा कायम छ । हामीले सम्बन्धित निकायलाई खबर गरेका छौँ ’ एक अभिभावकले गुनासो गरे ।
जनक शिक्षा सामग्री केन्द्र काठमाडौँले पुस्तकमै पाठ्यपुस्तक सम्बन्धी सम्पूर्ण अधिकार पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरलाई हुने उल्लेख गरेको छ । केन्द्रको लिखित स्वीकृति विना व्यापारिक प्रयोजनका लागि पुरै वा आंशिक भाग हुबहु प्रकाशन गर्न, परिवर्तन गर्न र प्रतिलिपि निकाल्न नपाइने व्यवस्था गरेको छ ।

पुरानो पुस्तक फिर्ता गर्न विद्यालय र बिक्रेतालाई पत्राचार
दैलेखको शिक्षा विकास तथा समन्वय इकाईले मन्त्रालयको परिपत्र अनुसार नयाँ नक्सा भएको पाठ्यपुस्तक मात्र विद्यार्थीलाई वितरण गर्न पत्राचार गरेको छ । ‘हामीकहाँ पनि केही गुनासोहरू आएका छन्, हामीले सबैलाई मन्त्रालयको परिपत्र अनुसार काम गर्न भनेका छौँ ’ शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले भने । तत्कालै शिक्षा समितिको बैठक बसेर जिल्लाभर परिपत्र गर्ने तयारी शिक्षा इकाई कार्यालय दैलेखले गरेको छ । विद्यालयका शिक्षकहरूले पनि यो विषयलाई ख्याल गरेर पुस्तक खरिद गर्न आग्रह गरेको थापाले बताए ।

जिल्ला प्रशासनद्वारा छानबिन गर्ने तयारी
नियम विपरीतका पुस्तकहरू वितरण गरेका गुनासो जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले छानबिन सुरु गर्ने भएको छ । स्थानीय अभिभावकहरूको मौखिक जानकारी अनुसार आफूले लिखित रुपैमै पुराना पाठ्यपुस्तक वितरण नगर्नु भनेर शिक्षा इकाई मार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।