कर्णाली प्रदेश सभाको बैठक नेकपा एमालेद्धारा अवरुद्ध

सुर्खेत । पटक पटक अवरुद्ध भएको कर्णाली प्रदेश सभाको बैठक नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ । आज बसेको संसदको १२ औं बैठकमा राजनीतिक विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विषयान्तर गरेर कुप्रचार गरेको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

संसद बैठकको शुरुवातमा एमाले प्रमुख सचेतक गुलावजंग शाहले मुख्यमन्त्रीले एमालेकै कारण संसद अवरुद्ध गरेको भन्ने प्रचार गलत भएको बताए । शाहले बोले लगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख राजबहादुर शाहीले बजेट जस्तो महत्वपूर्ण विषयमाथि छलफल गर्नुपर्ने भन्दै बसेर समस्या सुनाउन आग्रह गरेपनि एमाले सांसदहरुले उठेर विरोध गरेका छन् । कर्णाली सरकारले ल्याएको बजेट माथि ११ दिनदेखि दफावर छलफल हुन सकेको छैन् ।

एमाले सांसदहरूले बैठक अवरूद्ध गरेपछि असार १३ गते दिउँसो २ बजेका लागि संसद बैठक स्थगित गरिएको छ ।