कर्णालीमा निलम्बित सांसद बैठकमा उपस्थिति भएपछि एमाले सांसदले गरे संसद बैठक अवरुद्ध

सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले निलम्बन गरेका तीन सांसद आजको संसद बैठकमा उपस्थिति भएपछि संसद बैठक एमाले सांसदहरुले फेरि बैठक अवरुद्ध गरेका छन् । फ्लोक्रस गरेर नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको कुर्सी जोगाइदिने चार सांसदमध्य तीन जनालाई एमालेले असार १० गते फेरि निलम्बन गरेको थियो । तर निलम्बन गरेका दुइ जना एमाले सांसद बैठकमा सहभागी भएपछि एमालेले आजको बैठक अवरुद्ध गरेको हो ।

 

सर्वोच्च अदालतले फ्लोक्रस गर्ने चार जना सांसदलाई गरेको कारवाही नमिलेको भन्दै तत्कालका लागि यथावत राख्न आन्तरिम आदेश जारी गरेको थियो । प्रदेश सभामा सभामुख राजबहादुर शाहीले चारै जना सांसदहरु कायम भएको पत्र पढेर यसअघि नै सुनाएका थिए ।

सांसद कायम भएको पत्र सभामुखले घोषणा गरेपछि सांसद प्रकाश ज्वाला बैठकमा सहभागी हुँदै आएका थिए । उनी प्रतिपक्षको कुर्सीमा बस्दै आएका छन् । तर तीन मन्त्री भने यसअघिका बैठकमा उपस्थिति भएका थिएनन् । एमालेले थप एक महिना निलम्बन गरेपछि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरु अम्मरबहादुर थापा र नन्दसिंह बुढा भने आजको बैठकमा सहभागी भएका थिए । उनीहरु सत्तापक्षको कुर्सीमा गएर बसेका हुन् ।

कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको १३ औं बैठकको कारवाही प्रारम्भ हुन्छ सभामुखले भनेपछि एमाले संसदीय दलका नेता यामलाल कंडेलले आफ्नो धारणा राख्न शुरु गरेका थिए । त्यहीँ क्रममा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा बैठकमा सहभागी हुन्छन् । थापा आएको चाल पाएपछि आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा मन्त्री थापा तिर हेर्छन् । उनी जुरुक्क उठेर थापालाई बस्न आग्रह गर्दछन् ।

 

मन्त्री थापा शर्मा बसिरहेको कुर्सीमा बसेपछि शर्मा अर्को कुर्सीमा गएर बस्छन् । संसद बैठक शुरु नहुनु अगावै मन्त्री बुढा भने मुख्यमन्त्री शाहीको बायाँ कुर्सीमा बसिसकेका थिए । आजको बैठकमा कृषि मन्त्री कुर्मराज शाही भने सहभागी भएनन् ।

एमाले संसदीय दलका नेता यामलाल कंडेलले संसदीय व्यवस्थामा एमाले सरकार बाहिर रहेको र एक महिना निलम्बन गरेका मन्त्री संसदमा सहभागी हुनु संसदको मर्यादा विपरित भएको टिप्पणि गरे । एमालेले सरकारलाई समर्थन नगरेको र शुरुमा फ्लोक्रस गरेर सरकारमा सहभागी भएपनि अहिले एमाले सांसद रहेकाले सरकारबाट फिर्ता हुन बारम्बार आग्रह गर्दा नआएपछि दोस्रो पटक एक महिनाको लागि निलम्बन गरेको एमालेको दावी छ ।

 

संसद सचिवालयले नै मर्यादा विपरित काम गरेकोमा एमाले सांसदहरुले आपत्ती जनाएका छन् । निलम्बन गरेको पत्र टाँस गर्ने संसद सचिवालयले तिनै मन्त्रीहलाई संसदमा सहभागी किन गराएको भन्ने प्रश्न एमालेको छ ।

‘सर्वोच्चले जेठ २७ गते अन्तरिम आदेश दिएर एमालेमै चारजनालाई फर्काइदिएको हो । त्यसमध्ये प्रकाश ज्वाला आइसक्नुभएको छ । तीनजना अहिलेसम्म आउनु भएको छैन । हामीले तीन पटक उहाँहरूलाई पत्र पठाइसकेका छौं ’, नेता कंडेलले भने, ‘उहाँहरू आफैं सर्वोच्चमा एमालेकै सांसद हुन पाउँ भनेर जानुहुन्छ । सो माग पूरा भएपछि यहाँ निर्दलीय व्यवस्था जसरी आउनुहुन्छ यसलाई एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन ।’

आज बसेको बैठकमा पनि एमालेका सांसदहरू उठेर अवरुद्ध गरेपछि अर्को बैठक असार १८ गते दिउँसो दुई बजे बस्ने गरी स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए । असार १ पति बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।

पटक पटक सभामुख शाहीले बसेर बजेटमाथिको छलफल प्रक्रिया अघि बढाउनमा सहयोग गर्न अपिल गरेका थिए । तर एमाले सांसदहरुले उठेर विरोध जनाएपछि असार १८ गते दिउँसो २ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा सभामुख शाहीले गरेका छन् ।