वडा वडामा घुम्ती पिसिआर परीक्षण गर्न सुझाव

सुर्खेत । कोभिड—१९ को दोस्रो लहर कम हुँदै गएको र तेस्रो लहरको जोखिम बढिरहेका बेला पिसिआर परीक्षणको दायरा बढाउन वडा वडामा घुम्ती पिसिआर परीक्षण गर्न सुझाव दिइएको छ । कोभिडको तेस्रो लहरको जोखिम तथा रोकथामको पूर्वतयारी वारे जिल्ला प्रशासन कार्यालयमा सोमवार बसेको बैठकका सहभागीहरुले टोल टोलमा घुम्ती पिसिआर परीक्षण गर्न आवश्यक रहेको बताएका हुन् ।

सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले तेस्रो चरणको कोभिड नियन्त्रण गर्ने होभने घुम्ती पिसिआर परीक्षण संचालन गरी निक्र्यौल गर्न आवश्यक रहेको बताए । उनले एन्टिजेन कीटको माध्यमबाट परीक्षणको दायरा फराकिलो बनाउन टोल टोलमा परीक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश अस्पतालका डा. संजीव भण्डारीले अस्पतालमा गम्भीर भएकालाई मात्र उपचारमा रिफर गर्न र अन्यलाई सम्बन्धित स्थानमै राखेर उपचार गराउनुपर्ने विषयमा व्यापक जानकारी दिनुपर्ने बताए । उनले लक्षण नभएकालाई घर तथा स्थानीय स्वास्थ्य केन्द्रमै उपचार गर्ने र प्रदेश अस्पतालमा गम्भीर विरामीलाई मात्र रिफर गरेर चाप कम हुने र उपकरण तथा अक्सिजनको कमी नहुने उल्लेख गरे । उनले अहिले नै तेस्रो चरणको वारेमा सवै निकाय गम्भीर हुनुपर्ने सुझाव दिए । उनले उपचार भन्दा रोकथाम र नियन्त्रणलाई फोकस गर्न आग्रह गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका श्याम आचार्यले अक्सिजन प्लान्टहरु केही निर्माण हुने क्रममा रहेकोले तेस्रो चरणको भेरियन्ट आउने बेलासम्म अक्सिजनको अभाव नहुने दावी गरे । उनले बेडलगायत औषधि, कीट पनि हाललाई पर्याप्त रहेको उल्लेख गरे । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले तेस्रो चरणमा पनि उपचार, नियन्त्रण र रोकथामलाई जोड दिनुपर्ने बताए । उनले तेस्रो भेरियन्ट विशेषगरी बालबालिका जोखिममा पर्ने भएकोले विगतको भन्दा संवेदनशील बन्नुपर्ने जनाए ।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले तेस्रो भेरियन्टको जोखिममा बालबालिकाहरु पर्ने भएकोले उनीहरुलाई त्यसबाट बचाउने उपायका वारेमा व्यापक जनचेतना दिनुपर्ने बताए । बालबालिकामा लाग्ने लक्षण र बच्ने उपायका वारेमा व्यापक जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कोभिडको तेस्रो लहर नियन्त्रणमा ल्याउन लकडाउन निषेधाज्ञा भन्दा पनि प्रचारात्मक रोकथामका कार्यक्रमहरु ल्याउन जोड दिए । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कोभिडको तेस्रो चरणको रोकथामका लागि पूर्वतयारी स्वरुप सरोकावालाको बैठक बसेर कार्ययोजना बनाइ अगाडि बढ्ने बताए । उनले आगामी दिनमा विज्ञहरुसँग बसेर कोभिडको तेस्रो चरण रोकथामका गरिने पहलका वारेमा जानकारी गराइने उल्लेख गरे ।