उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन् । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निषेध आदेश अनुसार मंगलबारदेखि उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी सञ्चालन हुन थालेको हो ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रूपमा भौतिक दूरी कायम गर्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइनेछ ।

सार्वजनिक सवारी साधन चलेसँगै बजारमा चहल–पहल र भीडभाड बढेको छ भने अत्यावश्यक काममा लागि यात्रुहरूलाई सहजता समेत भएको छ । जति चल्नुपर्ने हो त्यति धेरै मात्रामा सवारी साधन भने चलेका छैनन् । सोमबारमात्र ४ यातायात संगठनहरूले विज्ञप्ति निकाल्दै सम्पूर्ण सार्वजनिक सवारी असार १८ गतेदेखि सञ्चालन गर्ने जनाएका छन् ।