फरार अभियुक्त पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न समयमा कैदका लागि फैसला भएका तर फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । मानव बेचविखन ओसार पसार, चेक अनादार र ज्यान मार्ने उद्योग मुद्दामा फैसला भएका तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

मानब बेचविखन ओसार पसार मुद्दामा सर्बोच्च अदालतले २०७६ पुस २ गते फैसला गरेपनि फरार रहेका जिल्ला वीरेन्द्रनगर–२ का ४० वर्षीय भिमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो । न्यौपानेलाई लगत नम्बर २५४३ मा ९ बर्ष २ महिना १३ दिन कैद र २५ हजार जरिवानाको फैसला अदालतले गरेको छ ।

यस्तै, चक अनादार मुद्दामा फैसला भएका वीरेन्द्रनगर–४ कालागाँउका ४६ वर्षीय धर्मराज गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतले यहीँ असार १० गते गिरीबाट ४२ हजार पाँचसय जरिवना असुल गर्न फैसला गरेको थियो ।

ज्यान मार्ने उद्योग मुद्दामा फैसला भएको तर १० वर्षदेखि फरार रहेका दैलेख दुल्लु नगरपालिका–६ छिउडीपुसाकोट ३४ वर्षीय प्रदीप खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । अदालतले २०६८ साल भदौ २८ गतेको खड्कालाई पाँच वर्ष कैद फैसला सुनाएको हो ।

खड्कालाई प्रहरीले वीरेन्द्रनगर बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार खड्काको पिसीआर परीक्षण नगरिएकोले आइतबार मात्रै अदालतमा उपस्थिति गराइने छ । न्यौपानेलाई कैद भुक्तानको लागि र गिरीलाई जरिवना तिर्न शुक्रबार नै अदालतमा उपस्थित गराइएको प्रवक्ता घर्तीको भनाई छ ।