कर्णालीका पाँच जिल्लाका कारागार जीर्ण, कैदीबन्दीलाई समस्या

सुर्खेत। कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ ।सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोटमा रहेका कारागार भवनहरुको अनुगमनमा भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको पाइएको हो ।

‘सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा छ,’ कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, ‘प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नु परेका समस्या बुझ्न म कारागारहरूको अनुगमनमा हिँडेको थिएँ, प्रतिवेदन तयार गर्न लागेको छु । कारागारहरूको अवस्था जीर्ण भएको, साँघुरा भवन हुँदा कोच्चिएर बस्नु परेको, खेलमैदान तथा मनोरञ्जनको व्यवस्था नभएको, खानेपानीको अभावजस्ता समस्या भोग्नु परेको पाएको छु ।

मुख्य न्यायाधिवक्ता श्रेष्ठले सुर्खेतमा भवन साँघुरो हुँदा कैदीबन्दी कोचिएर सुत्नु परेको, दैलेखमा भवन राम्रो भए पनि खानेपानी अभाव भएको र अन्य जिल्लाका कारागारमा भवनकै समस्या रहेको उनले बताए  । त्यस्तै जिल्लाका हिरासतहरुसमेत जिर्ण भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार यहाँको हिरासत अवस्थासमेत दयनीय छ ।