जुम्लामा वडाध्यक्षले नै गरे जातीय विभेद, दलित युवामाथि कार्यकक्षमै कुटपिट

जुम्ला । जुम्लामा दलित युवामाथि जातीय विभेदको घटना सार्वजनिक भएको छ । जुम्लाको सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिरेन्द्र नेपालीमाथि जातीय विभेद र गालीगलौज गरेका पीडितले बताएका छन् ।

वडा अध्यक्ष बुढाले गएको वर्ष असोजमा जुम्ला बजारमा रहेको रेडियो खुला आकाशको ‘वडाका कुरा’ कार्यक्रममा काँडागाउँमा ‘एक घर एक धारोको व्यवस्था गरेको’ लगायत कुरा बोलेको थिए। बुढाले गाउँमा खानेपानीको योजना आएको भन्दै घर घरमा खानेपानी पुगेको दाबी गरेपछि विरेन्द्र सहित स्थानीयले विरोध गरेका थिए । सोही क्रममा विरोध गर्दा वडाध्यक्ष बुढाले दलित युवा नेपालीलाई फोन गरेर जातीय गालीगलौज गरेका थिए ।

प्रहरीमा जाहेरी

असार ८ गते राखिएको विवाद समाधान बैठकमा सबैका सामु वडाध्यक्ष बुढाले नेपालीमाथि जातीय गालीगलौजका साथै कुटपिट गरेको पीडित युवाले बताएका छन् ।

उनका अनुसार वडाध्यक्षले कुकुर भनेर विभेद गर्दै गालीगलौज गरेको र वडाध्यक्षका छोरा नवीन बुढाले त सार्कि हलुडा बेचिखाने ,डुम लगायतका शब्दले गालिगलौज गरेका थिए । दुई जनाबीच झगडा परेपछि स्थानीयले छुटाएर घर पठाएका थिए । आफूमाथि सार्वजनिक ठाउँमा जातीय विभेद र कुटपिट भएपछि पीडित युवा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका थिए । तर प्रहरीले उजुरी दर्ता नै गरेन ।

प्रहरीले उजुरी लिन नमानेपछि पिडितले राष्ट्रिय दलित आयोगमा जाहेरी मेल गरे । यस विषयमा प्रतिक्रिया दिदै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकार्माले यो आयोगको मुद्दा हो । ‘यो हाम्रो काम हो। हामी विभेद हुन दिदैनौं,’ उनले भने, ‘दलित समुदाय माथि भएको विभेद सहेर कदापि बस्न सकिदैन।’

आयोगका अध्यक्ष विश्वकर्माकै सल्लाहमा यो मुद्दा राष्ट्रिय मानव अधिकार आयोगमा पनि पठाइएको विरेन्द्रले बताए। यसबारे आफूले राष्ट्रिय मानवअधिकार आयोग र दलित आयोगमा जानकारी गराएको पनि उनले बताएका छन् । तर जवाफ नआएपछि आफू अन्यायमा परेको उनले बताएका छन्