हुम्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिए

सिमकोट । हुम्लाका चार गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै दक्षिण क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ ।

दक्षिण क्षेत्रका नागरिकले अन्तरजिल्ला जोडिन तथा जिल्लाबाहिर जानका लागि चार दिन हिँडेर सदरमुकाम सिमकोटमा दुई÷तीन दिन बसेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।

नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोरको सडकले हुम्लालाई मात्र नभएर बाजुरा, मुगु जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष टेवा पुगेको अध्यक्ष फडेराले बताए । यहाँका नागरिकले पिठ्यूँमा भारी बोक्नुपर्ने अवस्था र घोडा तथा खच्चडबाट सामग्री ढुवानी गर्नुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष फडेराले बताए ।

जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै लैफु–खुलालुबाट सलीसल्लासम्मको १४२ दशमलव ७५ किलोमिटर सडकको अध्ययन गरी बाह्रै महिना यातायात सञ्चालन गरिने आयोजना प्रमुख लामाले बताए । सेनाले सडक हस्तान्तरण गरेसँगै जिल्लाको चंखेली गाउँपालिकाको सलीसल्लासम्म यातायात सञ्चालन हुने भएको छ ।