सुर्खेतमा कोरोनाको जोखिम, मास्क लगाउन अटेरी गरे फेरि निषेधाज्ञा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोनाको जोखिम पुनः बढ्न थालेपछि सर्वसाधारणलाई मास्क अनिवार्य गरी ‘तपाइँको मास्क खोइ’ अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय र सुर्खेत उद्योग वाणिज्य सङ्घलगायतले वीरेन्द्रनगर बजारका सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्दै उक्त अभियान सञ्चालन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको नेतृत्वमा मास्क अनिवार्य अभियान चलाइएको छ । कोभिडको दोस्रो चरणमा बिरामीको सङ्ख्या केही कम भएपछि खुला हुँदै गरेको जनजीवनका कारण सङ्क्रमित बढ्न थालेपछि जोखिम न्यूनीकरण गर्न मास्क अभियान थालिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

सर्वसाधारणहरूले मास्क लगाउन अटेर गरेको, भीडभाड बढी गर्ने गरेको पाइएको छ प्रजिअ रिजालले कोरोनाको तेस्रो चरणको जोखिम बढ्न थालेपछि मास्क लगाउन आग्रह गर्नुपरेको बताए । नागरिकले मास्क लगाउन अटेर गरेको पाइएको हुँदा पुनः सबैले मास्क लगाउन, भीडभाड नगर्न उनले आग्रह गरे ।

मास्क लगाउन आग्रह मात्र होइन, मास्क लगाउने तरिका पनि प्रजिअ रिजालले सिकाउँदै हिँडिरहेका छन् । ‘केही दिन नागरिकहरूलाइ सचेतना फैलाउछौं, अनिवार्य मास्क लगाउनुहोस् र स्वास्थ्यका मापदण्ड पालना गर्नुस् भनेर टोली बनाएर बजारमा अनुगमनलाइ तिव्रता दिएका छौं,’ रिजालले भने, ‘यति गर्दा पनि व्यवसायी र नागरिकहरूले अटेरी गरे सक्रमण रोक्न फेरि निषेधाज्ञा गर्नु पर्ने अन्तिम विकल्पमा जान बाध्य हुनेछौं ।’

सुर्खेतमा कोभिडको सङ्क्रमण दर साउन दोस्रो सातापछि बढेको छ । साउनको पहिलो सातासम्म २० प्रतिशत रहेको सङ्क्रमण दर दोस्रो सातामा आइपुग्दा ३० प्रतिशतभन्दा बढी भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक चेतननिधि वाग्लेले साउन पहिलो सातासम्म ओरालो लागेको सङ्क्रमण दर दोस्रो सातापछि उकालो लागेको बताए । उनले साउन दोस्रो सातादेखि ३० प्रतिशतबाट माथि पुगिसकेको जानकारी दिँदै सोमबार करिब ५० प्रतिशत पुगेको उल्लेख गरे ।

कोरोनाको जोखिम पुनः बढेको हुँदा मास्कको प्रयोग अनिवार्य भएको, भीडभाड नगर्न आह्वान गर्नुपरेको उनको भनाइ छ । यदि समयमै सचेत हुन नसकेमा कोरोनाको तेस्रो लहरले पुनः क्षति बढाउने उनले उल्लेख गरे ।

कर्णालीको सुर्खेत जिल्ला कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । कोरोनाका कारण सुर्खेतका मात्रै २०७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल सुर्खेतमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय पुग्न लागेको छ । दुई सयभन्दा बढी होम आइसोलेसनमा बसेका छन् । चाडपर्वसमेत नजिक आउन थालेपछि भीडभाड बढ्ने र कोरोनाको जोखिम झन भयावह हुने खतरा देखिएको वरिष्ठ प्रशासक वाग्लेले बताए ।

सुर्खेत उद्योग वाणिज्य सङ्घले व्यापारी तथा व्यवसायीहरूलाई भीडभाड नगर्न आग्रह गर्दै सबैलाई मास्क प्रयोगमा अनिवार्य गरेको छ । सङ्घका महासचिव लक्ष्मण कँडेलले सामान बिक्री गर्दा मास्क अनिवार्य लगाउन, पसलमा भीड नगर्न र मास्क नलगाएका ग्राहकलाई मास्क प्रयोग गर्न सुझाव दिइएको जानकारी दिए । सुर्खेतमा प्रशासनले बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पसल खोल्न अनुमति दिएको छ । कोरोनाको जोखिम पुनः बढ्न थालेपछि समय निर्धारणलाई कडाइ गरिएको छ ।