सल्यानमा सवारी दुर्घटना : ९ जनाको मृत्यु, ८ जना घाइते

सल्यान । सल्यानमा एक बर्षको अवधिमा सवारीसाधन दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आर्थिक बर्ष २०७७।०७८ मा जिल्लाभर भएका १ सय ६३ वटा सवारी दुर्घटनामा परेर ८ जना पुरुष र एक जना महिला गरेर ९ जनाको मृत्यु भएको हो । सोही एक बर्षको अवधिमा सवारी दुर्घनामा परेर ८ जना सख्त घाइते भएका छन् भने १ सय ९८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार एक बर्षको अवधिमा जिल्लाभर बस १९ वटा दुर्घटना भएका छन् । यस्तै ट्रक १५ वटा, ट्याक्टर २१ वटा, जीप कार ३४ वटा, मोटरसाइकल ५० वटा र अन्य ६ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ रहेको छ । गत आर्थिक बर्ष २०७६।७७ मा जिल्लाभर ६८ वटा दुर्घटना भएका थिए । जसमा परेर १५ जनाको मृत्यु, ७ जना सख्त घाइते र १ सय १२ जना सामान्य घाइते भएका छन् ।

यस्तै अघिल्लो आर्थिक बर्ष २०७५।०७६ मा १ सय १ वटा सवारी दुर्घटना भएका छन् । जसमा परेर १८ जनाको मृत्यु भएको छ भने २५ जना सख्त घाइते र १ सय ५६ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव निरिक्षक दिपेन्द्र कुमार केसीले सवारीसाधन चालकको लापरवाहीका कारण बढी मात्रामा सवारी दुर्घटना हुने गरेको बताए ।

यस्तै साँघुरो तथा कच्ची सडक, सवारीको गति तिव्र लगाएतका कारणले धेरै सवारी दुर्घटना हुने गरेको उनको भनाई छ । उनले जिल्लामा हुने सवारीसाधन दुर्घटनालाई कम गर्नको लागि सवारी चालक, सहचालक, सवारी धनि सहित सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताए ।

सडकको वारपार कसरी गर्ने, कुन साइटबाट पैदल यात्रा गर्ने लगाएका बिषयमा आमनागरिकहरुसँगै बिद्यार्थीहरुलाई पनि सवारी दुर्घटना न्युनिकरणका बारेमा जानकारी दिनेगरेको ट्राफिक प्रहरीले जनाएको छ ।